भुन्टी🐂
भुन्टीकि आमा हाम्रो घरमा आइपुग्दा,सायद उसको जिबनको उतरार्दमा पुगेकी हुँदोहो,मलाइ अहिले जस्तो लाग्छ भिम सरका घरबाट४००० हजारमा भुन्टिकी आमालाइ किनेर ल्याउँदा रिसाउँदै "यी बाबैले ४००० खाल्डामै हाले न यसले दूध धेरै दिन्छ न ब्यांउँछ नै थारो गाइलाइ यत्तिका पैसा हालेर बेक्कार मा"भन्नुभएको। आमाको कुरा सुनेर बुवा मुस्कुराउँदै भन्नुभाथ्यो "हेर्दै जा न यस्ले उसको ज्यान भन्दा बढी दूध दिन्छ र बाछाबाछी पनि पाल्छ तेतिबेला तैं खुसी हुँदै भन्नेछेस बाबैले सहि गरेछन भनेर।" झ्ल्यासै हेर्दा आमाको कुरा पनि जायजै थियो हुनपनी भुन्टिकी आमा हाम्रो घरमा आइपुग्दा उससंग न जिउडाल नै थियो न त रंग रुपनै। एउटा सिंग भाचिएको सानी डल्ली फुंग उढेको रंग त्योपनी कालो त्योपनी निख्खुर कालो पनि हैन सिन्दुरी रंगको। हड्डि गन्ने हो भने सबै गन्न सकिने,छर्लङ्ग डाडाभाटा मात्रै जिउमा।जसोत्तसो भुन्टिकी आमाले आफ्नो जीवन चलाउँदै गइ। हाम्रा घरमा दिएजती खानेकुरा नाइनास्ती नभनी खां,दै गइ। बिस्तारै उसको जिउडाल फेरिदै गयो। केही महिना पछि नै भुण्टिकी आमाको जिउडाल रंग रोगन फेरिदै आयो। भुन्टिकी आमाका आखामा दिन्दिनै उज्यालो छाउँदै गयो संगस्ंगै हाम्री आमाको मनमा खुसी पनि।
६/७महिना पछि भुन्टिकी आमाको फाँचो भरिदै गयो। अब पक्का भयो। सानी डल्ली भुन्टिकी आमा अब गर्भवती हुने भइ।,हाम्रो परिवारमा खुसी छायो जे भएपनी अब हाम्रो घरमा सम्पत्ती बढने भयो।, दिन बित्दै गयो भुन्टिकी आमापनी अब साँजबिहान हुँदै गइ,। सकेको स्याहार सुसार गर्यौ हामी सबैले। मेरो काम बिहान स्कुल जानेबेला सम्म गाइलाइ कुंडो पकाउने र बैनी हेर्ने।माइला दाजु र दिदी अम्बिका घाँस काट्ने सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्थ्यौ।बैनी हुन त 7/8बर्सकी हुँदिहो त्योबेला तर एक्दमै जिद्दी घमण्डि उसलाइ जे भन्यो त्यो दिएन भने भो गरिलाग्ने खालकि नै थिइन।जे भनेपनी जसो गरेपनी उसलाइ चाहियो भने पछि चाहियो।बैनी सात महिनामा जन्मेकी रे सात महिनामा जन्मेका मान्छे स्वभावतः अलि बढी जिद्दि र घमण्डी हुन्छन रे बैनिको ब्यबहार देख्दा अझैपनी होकि जस्तै लाग्छ पनि।,बैनी र बाज्दै जुद्दै भुन्टिकी आमालाइ खोले तयार पार्थ्यौ।समय बित्दै गयो अब भुन्टिकि आमा आज होकि भोलि भइ एकदिन बेलुका आमाले भन्नुभो "यसले आज राती नत्रभए भोलिबिहान सम्म मा जन्माउँछे राती उठेर हेर्दै गर्नु बाबै।" तदअनुरुप:बुवाले राती उठ्दै गोठमा हेर्दै गर्नुभएछ तर राती उसले जनमाइन बरु बिहान झिसमिसेमा उठेर हेर्दा त आफ्नी छोरिलाइ चाटदै गरेकी पो भेट्नुभएछ। बुवाले हत्तार हत्तार आमा दिदी हरु लागेर तातोतातो मकैको मल्खुको झोल बनाएर खुवाउनु भो। भुन्टीकि आमालाइ,उसले पनि पहिले झै केही नाइनास्ति नगरी खाँदै गइ। उसले अब एक उन्नत जातकी छोरी दिइसकेकी थिइ हामिलाइ। एउटा किसानलाइ सानो डल्लो मदेशी गाइले सलक्क परेको ज्यान भएकी हेर्दै उन्नत जातको हुन्छ जस्तो लाग्ने बाच्छी जन्माइदिदा त्यो भन्दा बढी खुसी के मा लाग्दोहोस? हाम्रा बुवालाइ त गाउँघरका सबैलाइ बोलाएर लौ हेर मेरो डल्लो एउटा सिङ भाचिएको अनुहार न दनुवार को गाइले मलाइ मलाइ सलक्क परेकी एउटि बाच्छी जन्माइदिइ भनेर माइकिङ नै गरिदिउँ झै लागेको हुँदोहो उतिबेला।
भुन्टी सानामा एक्दमै चन्चले जिउमा छोइदियो भने बुरुक्कै उफृन्थी भुन्टी नाम कस्ले राखिदियो उतिबेला त्यो चाहिँ बिर्से तर भुन्टी भन्ने शब्द सुन्ने बित्तिकै उसैलाइ बोलाएको होकि झै गरि तिखा आँखा कान ठाडाठाडा पार्दै मान्छेतिर हेर्थी। बास्तबमा भुन्टिचाही हामी रिस उठेकाबेला बैनिलाइ भन्ने गर्थ्यौं। उपनी सानामा तेस्तै थिइ चन्चले कसैलाइ नटेर्ने हुन त अहिले भान्जिहरु पनि ठुलाठुला भईसके तरपनी अझै भुन्टी भन्दियो भने रिसाउँछे।हामिपनी रिसाकै हेर्न भएपनी घरिघरी भुन्टी भनेर बोलाइदिन्छौं आफ्ना भाइबैनी जत्तिनै ठुला भएपनी सानै छन जस्तो लाग्दोरहेछ मान्छेलाइ उसलाइ चाहिँ त्यो शब्द संग किन एलर्जी छ त्यो आफैं जानोस।
बैनिजस्तै त्यो डल्ली गाइको बाच्छी पनि मायाले नै हुर्किइ हाम्रो घरमा जसको नाम थियो "भुन्टि"एकबर्स पछि अब उसकी आमाले पनि दूध दिन छोडी भुन्टिपनि अब उसकी आमाभन्दा धेरै ठूलि भइसकेकी थिइ हेर्दा चाहिँ उन्न्नत जातकी जस्तो देखिने तर जिउमा हात लाइदियो भने चाहिँ चारफुट उफृने त्यो भुन्टी बाच्छीको हाम्रो घरमा बस्ने दिन सकिएछन क्यार बुवाले त्यसलाइ एकजना कार्की थरका भान्जादाजुलाइ बेचिदिनुभयो, ती दाजु खासमा गोरुब्यपार गर्थे तर त्यो बाच्छी राम्रो जातको हुन्छ भन्ने सोचेछन क्यार गाउँकै जोगि साइलालाई अधिँया पाल्न लगाएछ्न।अर्को बेतको पालामा भुन्टिकी आमापनि बुवाले बेचिदिनु भयो,जोगि साइला बडौ।(बढा बा) ले भुन्टिलाइ पनि राम्रै स्याहार गरेर २साल जति पाले त्यसपछि खै के मा कुरा मिलेन छ क्यार फेरि ती गोरुवाला दाजुले हाम्रै बुवालाइ किन्न अनुरोध गरेछन त्यसपछी केहिदिनमै फेरि हाम्रै घरमा भुन्टि आइपुगी त्यसपछी उसको जिबनको करिब 10/12बर्स उस्ले कहिले दिदिको मा कहिले हाम्रोमा मात्रै जीवन बिताइ उ सानो हुँदा उसलाइ खुल्ला छोडिदिदा साह्रै खुसी हुने त्यो बानी उसको नाति नातिनिहरु आमा भइसक्दा पनि कहिल्यै गएन।
3/4 बेतको पालोमा होला भुन्टी एकहाते भइछे,आमालाइ बाहेक अरुलाइ दूध दिनै छोडि। आमालाई बाहेक दुहुन बस्नै नदिने भइ बस्न दिएपनी आधामै उफृदिने बाल्टिको दूध पनि पोखाइदिने गर्न थाली,एकदिन आमा बिरामी भएर होकि के भएर बुवाले दूध दुहुन बसेकाबेला बुरुक्कै उफ्रेर दूध घोप्टाइदेछ।बुवाले रिसले भाटैभाटाले हान्नु भयो।साह्रै दुख्ने गरि हान्नुभएछ क्यार बुवा छेउमा जाने बित्तिकै गाइले त जिब्रो पो निकाल्न थाल्यो।आमालाइ असहय भएछ क्यार,नकुटहै बाबै! एउटा गाइलाइ पनि माया संगले दुहुन सक्दैनन! म मरिहाँले भने के गरिखान्छ्न होला भन्दै, सकि नसकी दुहुन बस्नुभयो।आमा बसेपछी त अहिले एकैछिन अघाडी बुरुक बुरुक गर्ने भुन्टी त फेरि चुपचाप दूध दिन्छे।हामी छक्कै पर्यौ।भोलिपर्सी पनि बुवा छेउमा जानेबित्तिकै जिब्रो निकाल्न थाल्यो सायद दुखाइ बिर्सेको नहुंदो हो।त्यसपछी धेरैदिन सम्म बुवालाइ देख्दा खुब डराइरहि भुन्टी। अरुबेला गोरु जोत्दा पनि एक सिर्काना गोरुलाइ हानेको देखेपनी बिहानभरी हामिसंग रिसाउने बुवालाइ त्यो दिन के को भुत चढेको हो त्यो अहिलेसम्म मैले बुझ्न सकेको छैन। पछि भुन्टी जेठी दिदिकहाँ हुँदा दूध दिदैन लात्ती हान्छ, खुट्टे लाएर दुन्छौ भन्थे भिनाजुले।एकदिन मैलेपनी देखें दूध दुहुने बेला खुट्टे लगाएर दुहुँदा रैछन भेनाजुले।दूध दुइन्जेल भुन्टिले जिब्रो निकालिरही सायद भिनाजुले पनि चाबुकचिउरा धेरैनै दिएका थिएछ्न क्यार बिचारी भुन्टिलाइ।अलि पछि फेरि भुन्टी हाम्रैमा आइपुगी,अब न लात्ती हान्छे न ओरपर नै सर्छे चुपचाप दूध दिइरहन्छे,मान्छे चिनेर होकि,आमाको मायाले त्यो उ आफैं जानोस!
४/५बर्स पहिले हामी दाजुभाइ आ-आफ्नै बाक्लोदाल खाने भनेर छुट्पुट भएका बेला आमाबुवा जेठा दाजुसंग जाँने पर्नुभयो,बुवाआमा गएपछी भुन्टिपनी त्यतै जानेभइ। भुन्टिलाइ दिनमा १/२घन्टा भएपनी छाडा छोड्दिनैपर्ने बानी लागेको दाजुकामा गएपछी जहिल्यै पगा लगाउनु पर्ने भएछ, एकदिन बुवाआमा भेटन जाँदा बुवाले भन्नुभो यसले साह्रै न्यास्रो मानेकी छे यहाँ,अनुहार नै उज्याले लाउँदिन चर्न पनि मज्जाले चर्दिन,खै के गर्नु चरन भएका हरु आएपनी पठाइदिन हुन्थ्यो,त्यो दिन बुवाले पैसा भन्दा पनि भुन्टिको माया बढी देखाउनु भाथ्यो,म नाजबाफ भएर हैन बेच्न त हुन्न मात्रै भन्न सकेको थिएँ,
त्यसको २बर्स पछि अस्ति आमाले भन्नुभो "भुन्टिलाइ त बेचिदियौं"।मैले ठाडै प्रस्न गरे आमालाइ अब यत्रो बर्स पालेर किन बेच्नु परेको?आमाले भन्नुभो,
"पछि सास जान नसकेर हुरुकहुरुक हुन्छे त्यस्तो बिजोक हेरेर बस्नुभन्दा नदेख्नै राम्रो भनेर।" म अक्क न बक्क भएँ राम्रै भयो भन्न पनि सकिन नराम्रो गर्यौ भनेर आमाबुवालाइ खै कसरी भन्न सकौंला?
भुन्टिले उसको जिबनको दसकमा हामिलाइ धेरै राम्रा राम्रा बाच्छाबाच्छी दिएर गुण लगाइ उसका साखासन्तान अझैपनी दिदिका घरमा छन जसले अझैपनी भान्जाभान्जिलाइ दुधको कमि हुन दिएका छैनन, पाल्न त धेरै गाई पालियो होला जिबनमा तर भुन्टीको जस्तो माया कुनैको लागेन सायद भुन्टिले पनि हामिलाइ त्यस्तै माया गर्थी होला सायद।अज्कल सपनामा घरिघरी देखिरहन्छु,घरी भुन्टिको वाच्छो पुछर हल्लाइ हल्लाइ उसको दूध चुसिराखेको हुन्छ,घरी हरियो मैदानमा एकलै चरिरहेकी हुन्छे।
हामिलाइ थाहाछैन तिमी तनमा छौ कि छैनौ,
जहाँ भएपनी तिमिलाइ दाग नलागोस!!
तिमिलाइ थाहा छैन तर तिमी हाम्रो मनमा छौ,
जहाँ भएपनी हामी अधर्मिलाइ तिम्रो पाप नलागोस!!
Comments
Post a Comment